कीर्ते गरेर छ करोडको सेयर जफत गर्न खोजेको आरोप
    10/3/2013 12:00:00 AM
आर्थिक संवाददाता ,
२०६१ सालमा काभ्रेमा स्थापना भएको इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकका पूर्वकार्यकारी प्रमुख डा. इन्द्रराज हुमागाईंको नाममा रहेको पाँच करोड ८६ लाख रुपैयाँको सेयर कीर्ते कागजात तयार गरी जबरजस्ती जफत गर्न खोजेको आरोप लगाउनुभएको छ । बैंकले गैरकानुनी रुपले आफ्नो सेयर जफत गर्न खोजेको भन्दै बुधबार काठमाडौंमा एक पत्रकार सम्मेलन नै गरेर हुमागाईंले यस्तो दाबी गर्नुभएको हो ।  उहाँले सो विकास बैंकका प्रमुख कार्यकारी कमल गौतम र अध्यक्ष इमानसिंह लामा मिलेर आफ्नो नाममा रहेको सेयर जफत गर्न लागेको दाबी गर्नुभएको हो । 

अवैध रुपमा आफ्नो नाममा रहेको सेयर जफत गर्ने तयारी गरेपछि आफू अदालत समेत गएको जानकारी हुमागाईंले दिनुभयो । बैंकको संस्थापक प्रमुख कार्यकारी रहनुभएका हुमागाईंलाई गतवर्ष स्वस्तिक फाइनान्ससँग मर्ज भएपछि प्रमुख कार्यकारीबाट हटाइएको थियो । सो बैंकमा हुमागाईंको बैंकमा ५ लाख ८६ हजार कित्ता बराबरको ५ करोड ८६ लाख रुपैयाँको सेयर लगानी रहेको छ । बैंकले सो सेयर कानुनविपरीत वित्तीय संस्थामा धितो राखेर कर्जा लिएको दाबी गरेको भए पनि हुमागाईंले भने अस्वीकार गर्दै आफूले एक सहकारी संस्थाबाट सामूहिक जमानीमा एक करोड रुपैयाँ ऋण लिएको स्वीकार गर्दै सेयर प्रमाणपत्र धितो राखेको अस्वीकार गर्नुभएको थियो । 



बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०६३ अनुसार, बैंकका सञ्चालक र कार्यकारी प्रमुखले पद छोडेको एक वर्र्षसम्म सेयर बिक्री गर्न वा धितो राखी कर्जा लिन पाउँदैनन् । तर, पूर्वप्रमुख कार्यकारी हुमागाईंले सेयर प्रमाणपत्र धितो राखेर कर्जा लिएको दाबी गरेको छ । उता, सेयर प्रमाणपत्र धितोमा राखेर कर्जा लिइएको भनिएको पशुपति सेभिङ एण्ड सहकारी संस्थाले हुमागार्इंले सेयर प्रमाण धितो राखेको नराखेको स्पष्ट पारेको छैन । पत्रकार सम्मेलनमा हुमागाईंले पशुपति सहकारीबाट २०६७ सालमा १ करोड रुपैयाँ सामूहिक जमानी कर्जा लिएको, तर बैंकको सेयर धितो राखेर कुनै कर्जा नलिएको जानकारी दिनुभयो । स्वस्तिक फाइनान्स र आइडी बैंकबीच मर्ज भएर बनेको आइडी बैंकको नयाँ सेयर प्रमाणपत्र २०६९ मंसिर १० गते छापिएको उल्लेख गर्दै हुमागाईंले उक्त प्रमाणपत्र नम्बर सहकारीलाई उपलब्ध गराई बैंक पदाधिकारीले २०६७ साउन १४ को तमसुकमा कीर्ते जालसाजी गरेको दाबी हुमागाईंको छ । हुमागाईंका अनुसार आफू पूर्वकार्यकारी रहेको बैंकले २०७० भदौ १६ गते एक पत्र थमाई आफ्नो सेयर किन जफत नगर्ने भन्ने आशयको स्पष्टीकरण सोधेर आफ्नो सेयर जफत गर्ने नियत राखेको दाबी गर्नुभयो । पत्रकार सम्मेलनमा पटक–पटक बैंकका हालका प्रमुख कार्यकारी गौतम र अध्यक्ष लामाले कीर्ते गरेको अभियोग लगाएका थिए । कीर्ते गरेर सेयर जफत गर्न खोजिएको सम्बन्धमा इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी कमल गौतमसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।